‘गुठियारको मात्रै भावना हुन्छ, हामी गरिबको हुँदैन ?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक सांसद शान्ता चौधरीले गुठीले मोही–किसानको पक्षमा आवाज उठाएको दाबी गरेकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रश्न गरिन्, “हातमा ठेला उठाएर, काँध खुइल्याएर कूत बुझाउने मोही–किसानको नाममा बोल्ने कि नबोल्ने ? मन्दिरका नाममा बोलिन्छ, मूर्तिको नाममा बोलिन्छ, गुठियारहरूको नाममा बोलिन्छ, गरिब–किसानको नाममा बोल्ने कि नबोल्ने ?”

उनले थपिन्, “चर्को गरी बोलेका कुरा मात्रै भावनात्मक हुन्छन् ? भोकभोकै हलो जोत्नेहरूको कुनै भावना हुँदैन ? निश्चित वर्गको हितमा मात्रै बोलिन्छ, उनीहरूका लागि बोल्नै नहुने ? उनीहरूका लागि कुनै व्यवस्था गर्नै नहुने भन्ने छ ? गरिबका लागि नबोल्ने गणतन्त्र हुन्छ ? मान्छे रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ ?” उनले प्रश्न गरिन् ।

उनले गुठी विधेयकविरुद्ध प्रतिपक्षीको आन्दोलन आश्चर्यजनक भएको टिप्पणी गरिन् । कांग्रेस सरकारमा हुँदा गुठी सम्बन्धी ऐन संशोधन गरेको र २०५८ सालमा विधेयक नै ल्याएको उनले बताइन् ।

तर, प्रतिनिधिसभा भंग भएकाले पास हुन नपाएको उनको भनाइ थियो । उनले दाङमा स्वर्गद्वारी गुठीको १२ सय बिगाहा जमिन १६ सय परिवारले जोतभोग गर्दै आएको र कूत बुझाउने मोहीको हालत अहिले पनि दयनीय रहेको बताइन् ।

copied from https://www.baahrakhari.com/news-details/200107/0000-00-00