जंगलमा भएकाे बेला नेवारलाई ‘नेवा राज्य’ दिन्छु भन्ने सत्तामा भएको बेला गुठी पनि खोसिदिने ?

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिंदेनले गुठी नेपाली मौलिकता भएको बताउनुभएको छ । संसद्को शून्य समयमा बोल्दै सांसद लिंदेनले गुठी परम्परा किरात कालबाट सुरु भएर लिक्षवी कालमा विकर्षित भएको बताउनुभयो ।

सांसद लिंदेनले गुठीमाथिकाे हस्तक्षेप केवल गुठीयारहरुमाथि मात्रै नभई सनातन परम्परामाथिकै आक्रमण भएकाे पनि बताउनुभयाे । उहाँले जंगल र सडकमा भएको बेला नेवारलाई ‘नेवा राज्य’ नै दिन्छु भन्नेहरूले अहिले सत्तामा पुगेर नेवारहरूको गुठी नै खोसिदिन लागेकाे आरोप पनि लगाउनुभयाे ।

उहाँले भन्नुभयाे- ‘म सरकारलाई आग्रह गर्न चाहन्छु- नीति बिग्रनुअगाडि नै गुठी विधेयकलाई फिर्ता लिएर संरक्षण र प्रवर्द्धन गर्नुपर्छ ।’ उहाँले उपत्यका बाहिर रहेका मोहीहरुको समेत समस्याको समाधान हुनेगरी नयाँ विधेयक पेस गर्न पनि आग्रह गर्नुभयो ।

सांसद् लिंदेनले आफ्नो सनातन परम्पराका पक्षमा उभिएका जनतालाई होच्याउने र चिड्याउने ढंगले गुठी परम्परा सामान्तवाद भन्नु ‘आगोमा घिउ थप्नु’ भएको पनि बताउनुभयो ।

उहाँले कुनै पनि देश भूगोलले मात्र नबन्ने बताउँदै भन्नुभयो- ‘विसं २०३२ सालसम्म हाम्रै छिमेकमा सिक्किम भन्ने देश थियो, तर आज छैन । आज पनि सिक्किमको भूगोल कसैले बोकेर लगेको छैन, जहाँको त्यहीँ छ । नाम पनि उहीँ छ तर देश छैन । देश हुनको लागि भूगोलबाहेक अन्य स्थायित्वकाे आधारहरू पनि हुन्छ, त्यो समाप्त भएपछि देशको अस्तित्व स्वतः समाप्त हुँदो रहेछ ।’

सिक्किममा राज संस्था ढलेपछि स्थायित्व पनि ढलेकाे भन्दै भन्नुभयाे- ‘हाम्रोमा पनि स्थायित्व र पहिचानका आधारहरू अनेक बाहना भत्काउने क्रम बढिरहेको छ ।’ उहाँले याे गुठीमाथिकाे आक्रमण यहीँ स्थायित्व र पहिचानमाथिकाे आक्रमण भएकाे भन्दै गुठी विधेयक राेक्न आग्रह गर्नुभयाे ।

copied from https://www.news24nepal.tv/2019/06/16/532656